राजनीति

‘एक पटक, यसै पटक’ भन्दै शेखर कोइरालाले थाले सभापतिमा प्रचार

२३ मंसिर, काठमाडौं । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचार सुरु गर्न थालेका छन् । कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षमा रहेका कोइरालाले सामाजिक सञ्जाल फेसबुकबाट प्रचार सुरु गरेका हुन् । कोइरालाले आज अपराह्न सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ मूल नारा दिएर सभापतिका लागि चुनाव प्रचार थालेका हुन् ।

पौडेल पक्षबाट शेखर सँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह सभापतिका आकांक्षी छन् । इतर पक्षका नेताहरुबीच सभापतिमा साझा उम्मेदवार तय गर्न भन्दै सहमतिका लागि छलफल जारी छ । सहमति निर्माण गर्न भनेर भइरहेका छलफलका क्रममा सभापतिका आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक  कोइरालाले केही लचक हुने संकेत पनि गरेका छन् ।

तर, प्रकाशमान सिंह र डा. शेखर कोइराला आफ्नो अडानबाट पछि हट्न नमान्दा सहमति जुट्न सकेको छैन । महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई सघाउने शर्तमा पछि हटेका छन् तर प्रकाशमान सिंहले भने सभापतिबाट कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् । कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।