राजनीति

सर्वसम्मत नेतृत्व चयनमा सहमती जुटाउन नेताहरु पौडेल निवास बोहराटारमा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको औपचारिक उद्घाटन हुन अब झण्डै डेढ घण्टाको समय रहेको छ । तर सभापतिमा सर्वसम्मत नेतृत्व चयनका लागि निरन्तर छलफलमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा सहमती जुट्न सकेको छैन ।

सभापति तथा प्रधानमन्त्री पक्षबाट सभापतिमा देउवाको उम्मेदवारी पक्का जस्तै भईसकेको छ । तर पौडेल पक्षमा वरिष्ठ केन्द्रीय सदस्य डा.शेखर कोईराला र पुर्व महामन्त्री प्रकाशमान सिंहले आफ्नो अडान नछाड्दा सभापतिको उम्मेदवार छान्न सकस परेको छ ।

साथै सर्वसम्मत नेतृत्व चयनमा छलफल गर्न नेताहरु अहिले पौडेल निवास बोहराटार पुगेका छन् । पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका हुन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन् ।