ब्रेकिङ न्युज

चिकित्सकको माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह

१२ साउन, काठमाडौं । गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गर्दै देशभरको स्वास्थ्य सेवा सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा साउन ९ गते चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै थापाले नागरिकको जीवन रक्षामा खटिने चिकित्सकहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्।
उनले उक्त घटनापछि पेशागत सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा हजारौं बिरामी उपचारबाट वञ्चित हुनुपरेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन्। आफ्नो सुरक्षा सुनिश्चित गर्न सेवा बन्द गर्नुपर्ने अवस्था आउनु दीर्घकालीन समाधान खोज्नुपर्ने संकेत भएको उनको भनाइ छ।
थापाले घटनामा संलग्न दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न, वार्ताका क्रममा दुर्व्यवहार गरेको आरोप लागेका अधिकारी तथा प्रहरीमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
त्यस्तै, नेपाल चिकित्सक संघ तथा स्वास्थ्यकर्मीहरूसँग तत्काल संवाद गरी उनीहरूको पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्दै ओपिडी लगायतका अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सञ्चालनमा ल्याउन सरकारलाई विशेष पहल गर्न उनले आग्रह गरेका छन्।
स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि वार्ता र संवादमार्फत समाधान खोज्दै सेवा प्रवाह नरोक्न उनले अपिल गरेका छन् ।