२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश र थरुहट आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता नभए आन्दोलनको ज्वालामुखी फुट्ने चेतावनी दिएका छन् । उनले संविधानप्रति आफूहरूको असन्तुष्टि कायमै रहेको बताए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष ठाकुरले कुनै पनि आन्दोलनलाई दबाएर समाधान नहुने बताएका छन् । सरकारको नेतृत्व गरेको पार्टीमा स्थिरता नरहे सरकार स्थिर नहुने ठाकुरले बताएका छन् ।
सरकारमा स्थिरता नरहँदा राज्यका अन्य अंग प्रभावित हुने गरेको उनले बताएका छन् । उनले पार्टीभित्र पनि स्थिरता आवश्यकता रहेको बताएका छन् । संसदले राम्ररी काम नगरेको र सर्वोच्चको पनि त्यही अवस्था रहेको भन्दै जनताले पाउनु पर्ने सेवा र न्यायमा प्रभाव परेको बताएका छन् ।





