२ साउन, सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारका ५ जना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्।
आज बिहान राजविराज कारागारमा नाइकेसम्बन्धी विवादमा पाँचजना कैदीबन्दीले शरीरमा मट्टितेल छेर्केर आगो लगाउने प्रयास गरेका हुन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएको जानकारीअनुसार गत दुई दिनदेखि दुई समूहबिच भएको विवादमा एक पक्षका पाँच जना कैदीले मेसमा खाना बनाउन राखिएको मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
उनका अनुसार कारागार नाइकेले बिनाकारण दुर्व्यवहार र दुस्ख दिने गरेकाले उनलाई हटाउनुपर्ने माग ती कैदीबन्दीले गरेका छन्।
एक पक्षले हटाउनुपर्ने अर्को पक्षले नहटाउने भनेपछि विवाद भएको हो।
हटाउनुपर्ने पक्षका कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन्।
यद्यपि नाइकेलाई त्यहाँबाट अन्यत्र सारेपछि अहिले अवस्था सामान्य बनेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।
आत्मदाहको प्रयास गरिए पनि तत्काल चिकित्सक टोली पुगेपछि क्षति हुन नपाएको बताइएको छ।





