ब्रेकिङ न्युज

डा. देवेन्द्रराज पाण्डेको योगदान इतिहासले सधैं सम्झिनेछ : आङ्देम्बे

२ साउन, काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा। देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार श्रद्धाञ्जली तथा समवेदना सन्देश जारी गर्दै आङ्देम्बेले डा। पाण्डेको निधनले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलन, सुशासन र सार्वजनिक जीवनमा डा। पाण्डेले पुर्‍याएको योगदान सदैव सम्मानका साथ स्मरण गरिने उल्लेख गरेका छन् ।

आङ्देम्बेले लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानवअधिकार, पारदर्शिता र उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा.पाण्डेले खेलेको भूमिका ऐतिहासिक रहेको बताएका छन् । विशेषगरी २०६२र०६३ सालको जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट उनले निर्वाह गरेको नेतृत्वदायी भूमिका र निरंकुशताविरुद्ध उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनको अमूल्य सम्पत्ति भएको उनको भनाइ छ ।

‘२०६२र०६३ सालको जनआन्दोलनमा नागरिक समाजका तर्फबाट उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका लोकतान्त्रिक आन्दोलनको अमूल्य सम्पत्ति हो,’ आङ्देम्बेले भने ।

उनले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा डा। पाण्डेले नेपालको आर्थिक नीति, सार्वजनिक प्रशासन, सुशासन र विकाससम्बन्धी बहसलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरेका छन् ।

आङ्देम्बेका अनुसार डा. पाण्डेको निधनसँगै मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतान्त्रिक मूल्य-मान्यताका दृढ पक्षधर गुमाएको छ ।