प्रदेश 1

गढी संरक्षणका लागि सेनाको पदयात्रा

१९ पुस, उदयपुर । ऐतिहासिक स्थल चौदण्डी गढी र उदयपुर गढी संरक्षण तथा सरसफाइका लागि नेपाली सेनाले पत्रयात्रा तथा सरसफाइ अभियान सुरु गरेको छ । आइतबार जिल्लाको चौदण्डी गढी नगरपालिकाको उक्त गढीमा गाइघाटस्थित नेपाली सेनाको रणशार्दूृल गणका सेनाको अगुवाइमा बेल्टार क्षेत्रबाट पहिलो पटक एकदिने पदायात्रा सम्पन्न गरिएको हो ।

आइतबार नगरपालिकाको बेल्टार बजारबाट नेपाली सेना र जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोलीले झाँकी, तथा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मार्चपास गरेर झण्डै १६ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित उक्त गढीमा पदयात्रा गरिएको गणपति अर्जुनकुमार बोहराले बताए । चौदण्डीमा सेनासहितको मार्चपास पुगेपछि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले झण्डोतोलन गरेको र त्यसपछि नेपाली सेनाको टोेलीले गढी क्षेत्रमासरसफाइ गरेको थियो ।

प्रजिअ यादवले हिजो ससाना टुक्रा र गढीमा छरिएर रहेका राज्यलाई एकीरण गरेर एउटै नेपाल निर्माण गर्ने कार्य पनि सेनाले नै गरेको र आज पनि ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र सम्वद्र्धनका लागि जनचेतना जगाउन सेनाको महत्वपूर्ण भूमिका रहेको बताए । नगर प्रमुख खगेन्द्रकुमार राईले पदयात्रा र जनचेतना जगाउने कार्यले चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने चर्चा गरे ।

यसैहप्ता उदयपुर गढीमा पनि नेपाली सेनाले पैदलयात्रा र सरसफाइ गर्ने तयारी गरेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि चौदण्डी गढीमा सेन राजाले राज्य गर्दै आएका थिए ।
प्रथम राजा, जगत सेन, द्वितीय विक्रम सेन, तृतीय लोहाङ सेन र चौथो कर्ण सेनले स्वतन्त्र राज्य निर्माण गरेर राज्य गरिरहेका बेला विसं १८३० मा पृथ्वीनारायण शाहका फौज अभिमान सिंह बस्नेत, स्वरुप सिंह कार्कीको नेतृत्वको फौजले चौदण्डीगढी राज्यलाई नेपालमा गाभेका थिए । उदयपुर गढीलाई पनि चौदण्डी गढी एकीकरण गरेको एक हप्तामा नै एकीकरण गरेपछि चौण्दडीका राजा कर्ण सेन र उदयपुरका राजा उदयसेन भागेर अन्यत्र गएको इतिहासविद् बताउँछन् ।