पर्यटन/संस्कृति

नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने काम रोक्न प्रधानमन्त्रीसंगको सहमतीमा निर्देशन

२२ पौष, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिएका छन् ।

दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले मंगलबार मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिएका हुन् । मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिए ।

समितिले सङ्ग्रहालयका १० रोपनी जमिनमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्राहालयभित्र रेस्टुरेण्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।