सुदूरपश्चिम

सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

४ माघ, बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ मा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा १९९ र महाकाली अस्पतालमा ५८ जना पीसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । त्यस्तै एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरका १२२, कैलाली ६०, डडेल्धुरा १२, बझाङ नौ, बाजुरा नौ, अछाम नौ, डोटी पाँच र बैतडीका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच सङ्क्रमण पुष्टि भएका ४८८ जनामध्ये भारतबाट फर्किएका १०१ जना रहेको बताइएको छ । गौरीफन्टा नाकामा ५०, गड्डाचौकी नाकामा ४६ र झुलाघाट नाकामा पाँच गरी १०१ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  

यसअघि सोमबार यस प्रदेशमा ३४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा १२ सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।