बाग्मती

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः स्वेतपत्र जारी गर्ने निर्णय

६ माघ, बागमती । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो ।

प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समितिसमेत निर्माण गरिएको छ । मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ ।

मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति वैठकले गठन गरेको पनि उनले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कर्मचारी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय सीमा दिइएको छ । बैठकले प्रदेशको वित्तीय सुशान जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ समेत स्वीकृत गरेको छ ।