समाचार

गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइनः मन्त्री यादब

१० माघ, भक्तपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेका छन् । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उनले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताएका छन् । मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताएका छन् । वक्तव्यलाई अत्तिरञ्चित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् । 

मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने वीर सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ का रुपमा मनाउँदै आएको मन्त्री यादवले बताए । जनता समाजवादी पार्टीको भातृसङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो । 

सो सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उनको भनाइ छ । शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको उनले उल्लेख गरेकी छन् ।