पर्यटन/संस्कृति

पर्वतारोहण संघद्वारा दुई सय जना कुष्ट रोगीलाई न्यायो कपडा र स्वास्थ्य सामाग्री वितरण

१३ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्रममा रहेका कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई सहयोग गरेको हो ।

आश्रममा रहेको प्रत्येक व्यक्तिले ज्याकेट एक थान, डवल साइजको एक थान ब्लाङ्केट, दुई सय ३६ एमएलको एक बोतल स्यानिटाइजर, दुई वटा डिट्टोल साबुन र पचास पिसको एक प्याकेट मास्क प्राप्त गरेका छन् । दक्षिणकालि नगरपालिका वडा नम्बर दुईका अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्टरोग निवारण संघका प्रशासकीय अधिकृत जितबहादुर हमाल र एनएमएका अध्यक्ष सन्तवीर लामाले कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

यस्तै, एनएमएका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष शुदर्शन न्यौपाने, सचिवालय सदस्यहरु सिङ्गी लामा, दीपेन्द्र पाण्डे र शीवबहादुर सापकोटा तथा केन्द्रीय सदस्यहरु सार्की तामाङ, पासाङ भोटे र सञ्जिव गुरुङ, प्रमुख कार्यकारी अधिकृत कुल प्रशाद राईले पनि कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रीत व्यक्तिहरुले खुसी व्यक्त गरे । ‘निप्पोन फाउण्डेशन र एनएमएका अध्यक्षज्युले हामीलाई सहयोग गर्नुभएको यो पहिलो पटक हैन । यसअघि पनि उहाँहरुले हामीलाई धेरै नै सहयोग गर्नुभएको छ’, क्याम्पमा लामो समयदेखि आश्रीत कुष्ट रोगबाट ग्रसित उमाप्रशाद तिवारीले भने, ‘यो सहयोग वापत तपाईहरुलाई दिन हामीसँग केही छैन । यहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

एनएमएका अध्यक्ष लामाले यो सहयोगले आश्रममा आश्रीत व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘म यस्तै कार्यक्रम लिएर यो क्याम्पमा धेरै पटक आएको छु । यस पटक पनि द निप्पोन फाउण्डेशनकै कारणले यहाँ आएको छु,’ अध्यक्ष लामाले भने, ‘द निप्पोन फाउण्डेशनका श्रदेय अध्यक्ष योहेई शासाकाव र कर्मचारीहरुको माया हामीले धैरै पहिलेदेखि नै पाइरहेका हौं । यो सहयोगले तपाईहरुलाई यो जाडो मौसममा केही सहयोग पुग्छ भन्ने विश्वास लिएको छु ।’

जुममार्फत कार्यक्रममा सहभागी भएका द निप्पोन फाउण्डेशनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘कुष्ट रोग निवारणको अभियानमा द निप्पोन फाउण्डेशनले लामो समयदेखि काम गर्दै आइरहेको छ । यो हाम्रा लागि साच्चिकै महत्वपूर्ण काम हो’, निर्देशक मासातोले भने, ‘हामीलाई विश्वास छ कि यो सहयोग यहाँहरुको दैनिक जिवनमा महत्वपूर्ण सावित हुने छन् ।’

कार्यक्रममा जुममार्फत द निप्पोन फाउण्डेशनका निर्देशक कार्यक्रम निर्देशक माकोटो वाडा र कार्यक्रम अधिकृत रेमी मामुदा पनि सहभागी भएका थिए ।

नेपाल पर्वतारोहण संघले यही परियोजनाअन्तर्गत अर्काे महिना कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित तीन हजार पर्वतारोहीहरुलाई खाद्यान्न राहत वितरण गर्दै छ ।