प्रदेश 2

मुलुकको विकास गर्न निजी क्षेत्रमा लगानी गर्नुपर्नेः मुख्यमन्त्री राउत

१३ माघ, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकास गर्न निजी क्षेत्रको लागानी आवश्यक रहेको बताएका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको आज राजविराजमा आयोजित पदस्थापन कार्यक्रममा उनले निजी क्षेत्रको उच्च सम्मान गर्दै उनीहरुको अनुसार नीति तथा कार्यक्रम नल्याएसम्म समृद्धि आउन नसक्ने बताए ।

उनले राज्यले यसतर्फ ध्यान दिन नसकेको बताउँदै निजी क्षेत्र जग्गा खरिद गर्न ठूलो लगानी गर्न सक्ने अवस्थामा नभएकाले उद्योग सञ्चालन गर्न समस्या भइरहेको बताए । लिजमा जग्गा उपलब्ध गराउने सकिने भन्दै विद्युत्मा अनुदान दिने र उद्योग सञ्चालन भएको क्षेत्रमा सुरक्षा दिनेजस्ता कुरा ऐनमा राखिएको उनले बताए ।

जनसङ्ख्यामा प्रदेश पहिलो भएपछि अरु क्षेत्रमा पनि मधेश प्रदेशलाई एक नम्बर बनाउने मुख्यमन्त्री राउतले दाबी गरे । विकास, शान्ति सुरक्षा र समृद्धिका मामिलामा मधेश प्रदेश एक नम्बर रहने उनको भनाइ थियो । प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेको र तीन÷चार दिनभित्रै नियमावली पारित गरिने उनले जानकारी दिए ।

कार्यक्रममा प्रदेश अर्थमन्त्री शैलेन्द्र साहले मलखाद र सिँचाइको समस्याबारे मधेश सरकार संवेदनशील रहेको बताए । नवनिर्वाचित उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालप्रसाल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको पदस्थापना कार्यक्रममा विभिन्न व्यक्तिलाई सामान्न र मायाको चिनो प्रमुख अथिति मधेश प्रदेशका मुख्यमन्त्री राउतले प्रदान गरेका थिए ।