समाचार

खुल्यो अरनिको राजमार्ग


१२ फागुन, भत्तपुर । आज बिहान ११ बजेदेखि भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत साँगामा स्थानीयवासीले यातायात अवरुद्ध गरेपछि अस्तव्यस्त बनेको भक्तपुरतर्फको यातायात सञ्चालन भएको छ ।

बिहान ११ बजे स्थानीयवासीले दुर्घटनाग्रस्त सवारीसाधन र चालकलाई पक्राउ गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द गराएपछि काभ्रेतर्फ जाने सवारी बीचमै रोकिएर अलपत्र हुँदा सयौँ यात्रु दिनभर अलपत्र बनेका थिए । गए राति बनेपाबाट साँगातर्फ मोटरसाइकललाई चार पाङ्ग्रे सवारीसाधनले ठक्कर दिदाँ बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको मृत्यु भएपछि ठक्कर दिने फरार सवारी र चालकलाई पक्राउ गर्नुपर्ने माग राख्दै साँगामा स्थानीयवासीले दिनभर सडक बन्द गराएका थिए ।

महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक राम केसीले साँगामा अपराह्न ४ बजे राजमार्ग खुलेपछि यातायात सञ्चालन सहज गराउने प्रयास भइरहेको जानकारी दिए। अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिंह, ताथली, नाला हँुुुदै बनेपा जाने सडकमा प्रयोग गरिए पनि सो मार्गसमेत जाम परेपछि ट्राफिक व्यवस्थापनमा थप समस्या परेको थियो ।