सुदूरपश्चिम

महिनावारीका समयमा गरिने विभेद अन्त्य गर्न सांस्कृतिक महोत्सव


२८ फागुन, बैतडी । महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशीले गीतमार्फत जनचेतना सन्देश दिएका छन । 

आठ सयभन्दा बढी गीतमा स्वर दिएकी गायिका जोशी पछिल्लो समयमा समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै आएका छन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गायिक जोशीलाई मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत नियुक्त गरेको थियो ।   

सांस्कृतिक महोत्सवमार्फत समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि गायिका जोशीलाई सद्भावना दूतका रुपमा अगाडि सारेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए । उनले भने, “खानेपानी र सरसफाइका क्षेत्रमा हामी काम गरिरहेका छौँ । तर महिनावारी भएका बेलामा हुने विभेद अझै कायमै रहेकाले सांस्कृतिक महोत्सवमार्फत जनचेतना र परिवर्तन गर्न खोजिरहेका छौँ ।” 

महिनावारीका बेला अझै पनि हाम्रो समुदायका महिलाले चर्पी प्रयोग गर्न नहुने,  खानेपानीका धारा छुन नपाइने, दूध, दही खान नहुनेलगायतका हानिकारक प्रचलन छन् ।  महिनावारीका समयमा गरिने विभेद अन्त्यका लागि गीतमार्फत जागरण फैलाइरहेकी गायिका जोशीले बताए । महिनावारी भएका समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने उनले बताए । 

उनले भने, “महिनावारी भएका बेला गरिने विभेदले ठूलो समस्या निम्त्याउने गरेको छ, त्यसको अन्त्यका लागि मैले गीतमार्फत सचेतना फैलाइरहेकी छु । यसले केही परिवर्तन ल्याउनेछ ।” ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले स्थानीय तहसँग मिलेर सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा र बझाङमा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।  

महोत्सवमा यस्तै लोक तथा ड्यौडा गायिका रेखा जोशी, गायक महेशकुमार औजी, मनोहर परियार, गोपाल दयाललगायतका कलाकारले जनचेतनामूलक सांस्कृतिक झलक प्रस्तुत  गरेका छन ।  महिनावारी भएका समयमा महिलाले अझै पनि दूध, दही खान नपाउने, चर्पीको प्रयोग गर्न नपाउनेलगायतका समस्या रहेकाले त्यस्ता खालका समस्या हटाउन सबैले जागरुक हुनुपर्ने महोत्सवका सहभागीहरुले बताएका छन् ।