राजनीति

चुनावसम्म गठबन्धन कायम रहन्छ : कांग्रेस नेतृ डा देउवा


१० चैत, कैलाली । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताएका छन् ।

उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताए ।

नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे। उनले भने, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।”

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताए।

उनले भने ‘‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’’

स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरुका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन कांग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरे ।

उनले आफ्ना विषयको एक प्रश्नमा आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताए।

नेतृ डा देउवाले कांगे्रसका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा मिलेर र एकजुट भएर लाग्न आग्रह पनि गरे ।