१० चैत, इस्लामावाद । पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या शून्यमा झरेको छ ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार गत मङ्गलबार र बुधबार पाकिस्तानमा कोरोनाभाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २१० जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १५ लाख २३ हजार ७२ पुगेको छ ।
दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोना भाइरस विरुद्धको लडाइमा सन्तोषजनक सफलता हासिल गरेको छ ।
पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या भने १८० रहेको अधिकारीहरूले जनाएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या कम रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने बढेको देखिएको छ ।
पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३० हजार ३३३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।





