बाग्मती

५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्दार

२२ चैत, काठमाण्डौ । सिन्धुपाल्चोक तातोपानी घर भई हाल जिल्ला काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका वडा नं ३ मित्रचोक स्थित हरि श्रेष्ठको घरमा डेरा बस्दै गरेकी वर्ष ४५ की पेमा शेर्पा घरबाट हराई रहेको छ भन्ने मौखिक सूचना प्राप्त हुन आएपछि ।

महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलीद्वारा खोज तलास गर्ने क्रममा १७:५५ बजे हरि श्रेष्ठको घरमा रहेको इनारभित्र अचेत अवस्थामा रहेको देखिन आएपश्चात प्रहरी प्रधान कार्यालय बिपत ब्यबस्थापन महाशाखा सामाखुशीमा उद्दारको लागि समन्वय गरिएको छ।

प्रहरी प्रधान कार्यालय बिपत व्यवस्थापन महाशाखा सामाखुशीबाट प्र.नि.को कमाण्डामा १० जनाको प्रहरी टोली गरी जम्मा १७ जनाको प्रहरी टोलीद्वारा घटनास्थलबाट अन्दाजी ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्वार कार्य १८:३५ बजेको समयमा गरिएको हो।

महिलालाई उपचारको लागि जिल्ला काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित करुणा अस्पतालमा लगी उपचार भई रहेको छ , महिलाको अवस्था बोल्न सक्ने भएको बताईएको छ।

घटनाको सम्बन्घमा प्रहरीद्वारा थप अनुसन्धान भई रहेको छ।