अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित


१३ बैशाख, सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन् ।

त्यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको नि समाचारमा जनाइएको छ । त्यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो ।

सोमबार मात्र त्यहाँ कोभिडका संक्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । त्यहाँका यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । त्यहाँ अहिलेसम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले त्यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।