कल्पना काफ्ले कविता
आमा हाम्री मृदुल मनकी प्रेमधारा बगाइ
हाँस्छिन् बोल्छिन् सहजसितले कष्ट पीडा लुकाइ
आमा मेरी सलल सरिता प्रीतकै जीत जस्तो
प्यारो लाग्ने भनुँ भनुँ हुने शब्द ‘आमा! छ कस्तो ?
खोला नाला वन चहुरले साथ खोज्दा धरामा
आमा जान्छिन् छमछम गरी पुग्दछिन् कन्दरामा
आमा हाँस्दा वरपर सबै लाग्छ हाँस्दै छ जस्तो
प्यारो लाग्ने भनुँ भनुँ हुने शब्द ‘आमा’ छ कस्तो ?
माया बुझ्ने भुवनभरिमा प्यारकी प्यार आमा
हाम्री आस्था मुलुकभरकै उच्च सम्मान आमा
धर्का कोर्दै क ख ग घ सिकेँ पाठशाला सबैको
प्यारो लाग्ने भनुँ भनुँ हुने शब्द ‘आमा! छ कस्तो ?
सानो झुप्रो पनि किन नहोस् भव्य आमा हुँदामा
अग्लाअग्ला जति महल हुन् शून्य आमा रुँदामा
कस्तो होला भन मनुज हो सृष्टि आमा बिनाको
प्यारो लाग्ने भनुँ भनुँ हुने शब्द ‘आमा! छ कस्तो ?
गाई बाख्रा पशु पनि सबै आश गर्छन् उनैको
चुल्हो चौको परिचित सबै साथ खोज्छन् उनैको
ढुङ्गा पुज्ने किन जडहरू ठान्दछन् आज सस्तो
प्यारो लाग्ने भनुँ भनुँ हुने शब्द ‘आमा’ छ कस्तो ?