आर्थिक

जलविद्युत् कम्पनी एकापसमा गाभिँदै


२९ वैशाख, काठमाडौँ । बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएका छन् । त्यस्तै पछिल्लो पटक बीमा कम्पनी पनि एकापसमा गाभिने सम्झौता गरेका छन् । नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढी संस्थालाई गाभ्ने वित्तीय संस्थाको रुपमा ग्लोबल आइएमई बैंकलाई लिइन्छ । सो बैंकले एक दर्जन बढी संस्थालाई आफूहरूमा समाहित गरेको छ ।

त्यस्तै, नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन् । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच गाभिने सम्झौता खारेज भएको छ । नेपाल राष्ट्र बैंकले एकापसमा गाभिन पाउने नीतिगत व्यवस्था गरेको छ । त्यसबाट सकारात्मक नतिजा समेत हासिल भएको छ ।

यसै क्रममा जलविद्युत् कम्पनी पनि एकापसमा गाभिने तयारी गरेका छन् । जलविद्युत् कम्पनीको नियमन गर्ने विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई एकापसमा गाभिनका लागि स्वीकृति प्रदान गरेको छ ।

एउटै लगानीकर्ता रहेका जलविद्युत् कम्पनीले एक आपसमा गाभिनका लागि आयोगसँग अनुमति मागेका थिए । यही क्रममा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच गाभिने सम्झौता भएको छ । ती कम्पनी गाभिएपछि कूल संयुक्त चुक्ता पुँजी रु एक अर्ब १४ करोड ५५ लाख ५८ हजार कायम हुनेछ । आयोगको यही वैशाख २६ गते बसेको १५६ औँ बैठकले गाभिनका लागि सहमति दिएको छ ।

आयोगले प्रचलित कानुनबमोजिम लाभकरलगायत अन्य कर बुझाउनुपर्ने भएमा सम्बन्धित निकायका सो कर बुझाउनुपर्नेछ । कम्पनीले आयोगबाट समय सयममा जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासनसम्बन्धी निर्देशन पालना गर्नुपर्नेछ । कम्पनी गाभिने सम्बन्धमा अन्य प्रचलित ऐन, नियमावली वा निर्देशिका र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको व्यवस्था पालना गर्नुपर्ने भएमा सोकोसमेत पालना गर्नुपर्नेछ । आयोगले अन्य समान लगानीकर्ता भएका कम्पनीलाई पनि एकापसमा गाभिनका लागि प्रेरित गरिरहेको छ ।