३० वैशाख, मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लामा मतदान कार्य आज बिहान ७ बजेदेखि सुरु भएको छ । जिल्लामा मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमा मतदान कार्य सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
विराटनगर महानगरपालिकामा मतदान कार्य बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। मतदानका लागि पुरुष, महिला, युवा तथा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई मतदानका लागि विशेष व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बिहान विराटनगर–११ स्थित जनपथ मावि मतदान केन्द्रमा मतदान गरेकी थिइन्। यस्तै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आदर्श माविमा र जनता समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्नातकोत्तर क्याम्पसमा मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । जिल्लामा सात लाख १५ हजार २२३ मतदाता रहेका छन् ।





