प्रदेश 1

ताप्लेजुङका नौ वटै स्थानीय तहमा मतगणना जारी

३१ वैशाख, फुङ्लिङ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणनाको क्रम जारी छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा ५०० मतगणना भएको छ जिल्ला निर्वाचन कार्यालयले ताप्लेजुङले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा पनि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा भने सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । 

६४ प्रतिशत मत खस्यो

ताप्लेजुङमा ६४ प्रतिशत मत खसेको छ । ८९ हजार ६८० मतदाता रहेको जिल्लामा ६४ प्रतिशत मत खसेको हो । एक नगरपालिकासहित नौ स्थानीय तहमा १२२ मतदान केन्द्रबाट मतदान भएको थियो । पाथिभरा याङ्वरक गाउँपालिकामा ६१.९९ प्रतिशत, आठराई त्रिवेणी गाउँपालिकामा ६२ प्रतिशत, मैवाखोला गाउँपालिकामा ६५.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

सिदिंवा गाउँपालिकामा ६२ प्रतिशत, फक्ताङलुङ गाउँपालिकामा ६५.३५ प्रतिशत, सिरिजङ्घा गाउँपालिकामा ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले जानकारी दिनुभयो । यस्तै जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकामा ६४ प्रतिशत, मेरिङदेनमा ७१ प्रतिशत र मिक्वाखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको हो । 

याङमामा १४ मत मात्र खस्यो

सदरमुकामदेखि सबैभन्दा टाढा रहेको बस्ती याङमामा १४ मतखसेको छ । दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत खनालले बताउनुभयो । साठी मतदाता रहेको याङ्मामा मत सङ्कलनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी नौ जना खटिएका थिए । उहाँहरुका लागि रु दुई लाख बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ । सदरमुकाम फुङ्लिङबाट गाडीमा यात्रा गरेर र पैदल हिँडेर तीन दिनमा मात्रै यो बस्तीसम्म पुग्ने गरिन्छ ।

मौसम प्रतिकूल भएसँगै मतपेटिका लिन हेलिकोप्टर आएन

दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने निर्वाचन आयोगले गत साता गृह मन्त्रालयबाट अनुमति लिएको थियो । तर मौसम प्रतिकूल भएसँगै हेलिकोप्टर आउन सकेन । हेलिकोप्टर नआएसँगै याङ्माबाट मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालय तापेथेकसम्म बोकेर नै ल्याउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यसका कारण सो वडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको छ ।

यस्तै २७६ जना मतदाता रहेको ओलाङचुङ्गोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरे । यस्तै १६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् । यता ग्याब्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।