प्रदेश 2

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै

४ जेठ, जनकपुर । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।

गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले तीन हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा छन ।

उनीभन्दा अगाडि एमालेका शिवशङ्कर साह दुई हजार ८६ मतका साथ दोस्रो, स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ११३ मतका साथ तेस्रो र लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गरी चौथो स्थान रहेका छन ।

गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवारको मतपरिणाम निराशाजनक देखिए पनि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार बनेका कांग्रेसका किशोरी साहले भन्ने सुरुदेखि नै अग्रता कायम राखेका छन । उनले तीन हजार ४४२ मत प्राप्त गरी अग्रता कायम राखेका छन भने एमालेका रुना झाले एक हजार ७३७ मतका साथ उनलाई पछ्याइरहेका छन ।

कूल २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको हालसम्म सम्पन्न सातवटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव (देवु), वडा नं. २ मा कांग्रेसकै शिवकुमार साह, वडा नं. ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं. ४ मा कांग्रेसका सुरेश झा, वडा नं. ५ मा एमालेका बेचन साह हलुवाइ, वडा नं. ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं. २५ को वडाध्यक्षमा कांग्रेसकै चन्देश्वर साह विजयी भएका छन । अन्य वडाको मतगणना कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।