प्रदेश 1

विराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता

५ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिएका छन ।

यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले पछाडि रहेका छन । मुख्य निर्वाचन कार्यालयका अनुसार महानगर प्रमुखका उम्मेदवार कोइरालाले १९ हजार १७३, नेकपा एमालेका सागर थापाले १४ हजार ३३८, स्वतन्त्र उम्मेदवार उमेश यादवले छ हजार १८७ र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार ७०८ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा नेकपा (एमाले)को शिल्पा निराला कार्कीले १६ हजार ५५२, गठबन्धन दलतर्फका यादवले नौ हजार ८१५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले चार हजार ४९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ५४९ मत प्राप्त गरेका छन ।

विराटनगर महानगर वडा नं. १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित भएका छन । महानगरमा अहिले वडा नं. ३, ४, ५, ६, ८, ११, १२ र १४ को मतगणना भइरहेको छ ।