प्रदेश 2

राजविराजमा जसपाको नेतृत्व

६ जेठ, सप्तरी । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित भएका छन । उनले नौ हजार ६२४ मत प्राप्त गरेका छन ।

गत स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका भीमराज राजपाका शम्भुसँग १५ मतले पराजित भएका थिए । शम्भुले यसपटक चार हजार ८०७ मत प्राप्त गरे ।

उपप्रमुखमा जसपाबाट इसरत परविन सात हजार २६४ मतका साथ निर्वाचित भएका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशीलाकुमारी यादवले चार हजार ४२७ मत ल्याएका छन । गत स्थानीय तह २०७४ को निर्वाचनमा पाँच हजार १९५ मत ल्याएर निर्वाचित भएकी उपप्रमुख लोसपाकी साधना झा यसपटक तीन हजार २०६ मतमा सीमित हुँदा चौथो स्थानमा रहे ।

कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं. १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले ७, ८ र १०, लोसपाले ६ र १३ वडाध्यक्षमा विजयी हासिल गरेको छ । नेकपा (एमाले)ले वडा नं. १४, नेकपा (एकीकृत समाजवादी)ले वडा नं. १२ र राप्रपाले वडा नं. १३ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।