अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली र अमेरिकी राष्ट्रपति बीच शिखर वार्ता

७ जेठ, सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार सियोलमा पहिलो शिखर वार्ता गरेका छन।
यो शिखर सम्मेलन सियोलको केन्द्रीय जिल्ला योङसानमा रहेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । राष्ट्रपति युनले मे १० मा पदबहाली गर्दा राष्ट्रपतिको कार्यालयलाई ब्लू हाउसबाट सो स्थानमा स्थानान्तरण गरेका थिए।
संयुक्त विज्ञप्तिमा जनाइए अनुसार उक्त वार्तामा दुई देश बीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो।
दुई राष्ट्रपतिले सेमीकन्डक्टर, इको(फ्रेन्डली इलेक्ट्रिक वाहन ब्याट्री, आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी, बायोटेक्नोलोजी र स्वायत्त रोबोटिक्सका साथै साइबर सुरक्षा लगायत महत्त्वपूर्ण र उदीयमान प्रविधिहरूमा आपसी सहयोगलाई गहिरो र फराकिलो बनाउने वाचा समेत व्यक्त गरेका छन।
राष्ट्रपति युन र बाइडेनले रक्षा उद्योगमा द्विपक्षीय सहयोगको बढ्दो सम्भावनालाई आत्मसात् गर्दै रक्षा क्षेत्र आपूर्ति शृङ्खला, संयुक्त विकास र निर्माण जस्ता क्षेत्रमा साझेदारीलाई बलियो बनाउन सहमत भएका जनाइएको छ।
यसैगरी अन्तरिक्ष अन्वेषणमा संयुक्त अनुसन्धानलाई बढावा दिन सहमत भएको र संक्रामक रोगको खतरालाई रोक्न, तयारी गर्न र प्रतिक्रिया दिन बहुपक्षीय प्रयासहरूलाई बलियो बनाउन सहयोग गर्ने वाचा व्यक्त गरेका छन।
राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार आइपुगेका हुन। अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपति उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिएका छन।