लुम्बिनी

नवनिर्वाचित जनप्रतिनिधिका लोकप्रिय बन्ने निर्णय

१० जेठ, राँझा । स्थानीय तहमा नवनिर्वाचित बाँकेका जनप्रतिनिधिले पहिलो बैठकमा लोकप्रियता हासिल गर्ने गरी निर्णय गरेका छन् । नरैनापुर गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो क्षेत्रका प्रत्येक माध्यमिक विद्यालयलाई एक/एक स्कुल बस प्रदान गर्ने निर्णय गरेको छ । बाँकी रहेका स्थानमा विद्युतीकरण गरी प्रत्येक वडाको मुख्य चोकमा हाईमाष्ट लाइट जडान गर्न प्रक्रिया अघि बढाइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

उनका अनुसार पहिलो कार्यपालिका बैठक वडा नं.१ महनितीयामा रु तीन करोडको लगानीमा माध्यमिक विद्यालय निर्माण र जयकिसान माविमा क्याम्पस स्थापना गर्ने निणय पनि गरिएको छ ।
खजुरा गाउँपालिकाको पहिलो बैठकले ज्येष्ठ नागरिक र दीर्घरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने निर्णय गरेको छ ।

बैठकले वृद्ध, जेष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य जाँच हरेक दुई हप्ताको अन्तरमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष डम्बर विश्कर्माले जानकारी दिए । उनका अनुसार, वडास्तरमा रहेका स्वास्थ्य चौकीमार्फत निःशुल्क नियमित स्वास्थ्य परीक्षण गरिने छ । बैठकले अभिभावकविहीन बालबालिकालाई संरक्षण गर्ने, पालिकाभित्र फोहरमैला व्यवस्थापनका लागि जमिन व्यवस्थापन समितिसमेत बनाएको छ ।

कोहलपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सीप सिकेका व्यक्तिलाई रोजगारी दिन रोजगार बैंक तथा श्रम बैंक स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिकाले अति विपन्न, दलित तथा लक्षित वर्गका विद्यार्थीका लागि उच्च शिक्षा निःशुल्क गर्न सरकारी विश्वविद्यालयका आङ्गिक क्याम्पससँग सहकार्य गर्ने पनि निर्णय गरिएको नगरप्रमुख पूर्ण आचार्यले बताए ।