गण्डकी प्रदेश

लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव

२० जेठ, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँचवटा किताब किन्न पाए पनि चारवटा किताब अझै नपाउँदा अध्ययनमा समस्या भइरहेको उनले गुनासो गरे ।

उनी मात्र होइन, उनीजस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुःखेसो पनि उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावमा प्रभावित हुँदा विदार्थी चिन्तित बनेका छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थीको भविष्यमाथि नै खेलबाड गरेको विद्यार्थीको भनाइ छ ।

जिल्लामा पाठ्यपुस्तक अभावका कारण विद्यार्थीलाई मात्र नभई शिक्षक शिक्षिकालाई समेत समस्या बनाइरहेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको शिक्षकको भनाइ छ । बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, “पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत अझै किताब उपलब्ध नहुँदा विद्यार्थीलाई मात्र नभई शिक्षकलाई समेत समस्या भइरहेको छ । पुराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउन थाले पनि कक्षा ४, ७ र ९ का विद्यार्थीलाई भने नयाँ कोष भएकाले बढी समस्या भइरहेको उनको भनाइ छ ।

त्यस्तै यसै नगरपालिका–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापाका अनुसार पुस्तक पसलमा किताब उपलब्ध नहुँदा विद्यालयसम्म आवश्यकतानुसार विद्यार्थीले किताब पाएका छैनन् । जेठ ४ गतेदेखि पठनपाठन सुरु गरिएकामा किताब अभाव भएकाले विद्यार्थीलाई पढाइमा थप समस्या भइरहेको उनले भने ।

गत स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा जिल्लामा समयमै किताब उपलब्ध हुन नसक्दा विद्यार्थी दैनिक सयौँ सङ्ख्यामा किन्न आउने र रित्तै फर्किने गरेको पुस्तक पसलका सञ्चालकको भनाइ छ । केही–केही विषयका आए पनि सबै विषयका पाठ्यपुस्तक उपलब्ध नभएको बताइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको चर्को गुनासा आइरहेता पनि समाधान भने हुनसकेको छैन ।

केही विद्यालयले पुराना किताबबाट पठनपाठन गरेका छन् भने, इन्टरनेटको सुविधा भएको विद्यालयमा इन्टरनेटबाट खोजेर समेत पढाउने गरेपनि दुर्गमका विद्यार्थीहरुलाई बढी समस्या भइरहेको उनको भनाई छ । जतिसक्दो आवश्यक किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल गरिरहेको समेत उनले भने । जिल्लााम सामुदायिक विद्यालय ३३६ वटा तथा निजीतर्फ ३३ वटा विद्यालय रहेका छन् । वि.सं. २०७८ सम्मको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयतर्फ २५ हजार ८१० विद्यार्थी रहेका छन् भने, निजितर्फ ८ हजार ४९२ जना रहेका छन् ।