अन्तर्राष्ट्रिय

स्वस्थ पृथ्वीका लागि लाग्न आग्रह

२० जेठ, स्टकहोल्म । बिहीबारदेखि सुरु भएको संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकले स्वस्थ पृथ्वीका लागि तत्कालै सबै लाग्नुपर्ने आग्रह गरेको छ । सो बैठकमा विश्वमा वातावरण विग्रिँदै गएको र जलवायु परिवर्तनका कारण धेरै असरहरु देखिन थालेको भन्दै यसका लागि विश्वका देशहरु नै लाग्नुपर्ने बताइएको छ ।

बैठक विश्वमा देखिएको वातावरणीय नकारात्मक असरहरुलाई कम गर्नका लागि आवश्यक पर्ने कदममा केन्द्रित भएको बताइएको छ ।‘स्टकहोल्म प्लस ५०: सबैका लागि र समृद्धिका लागि स्वस्थ पृथ्वी’ नाम दिइएको सो बैठकमा यस्तो पृथ्वी निर्माण गर्ने दायित्व सबैको भएकोमा चर्चा गरिएको छ ।

यसअघि सन् १९७२ मा मात्र स्वीडेनले संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकको आयोजना गरेको हो । पचास वर्षपछि आयोजना भएको यस बैठकमा अहिले विश्वमा झन् वातावरणीय विनास हुदै गएकाले बैठकको सान्दर्भिकता रहेको बताइएको थियो ।

विश्वमा विकासशील देशहरु यो वातावरणीय विनासमा झन् पीडित भएका पनि सो अवसरमा छलफल भएको बताइएको छ ।