अन्तर्राष्ट्रिय

अस्ट्रेलियाली प्रधानमन्त्रीले आइतबार इन्डोनेसिया भ्रमण गर्ने

२१ जेठ, क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले दुई राष्ट्रबीच सम्बन्ध बढाउनका लागि आइतबारदेखि इन्डोनेसियाको भ्रमण गर्ने पुष्टि गरेका छन ।

मे २१ मा भएको आम निर्वाचनमा आफ्नो लेबर पार्टी विजय भएपछि अल्बेनिज विदेशमन्त्री पेनी वोङ, व्यापार मन्त्री डन फारेल र उद्योग मन्त्री एडि हुसिकसहित आइतबार इन्डोनेसियाको भ्रमण गर्न लागेका हुन ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग नेताहरूको नियमित वार्षिक भेटका लागि उनीहरू इन्डोनेसिया जाने भएका छन ।

तीन दिने यात्रा मुख्यतया दुई देशबीचको आर्थिक सम्बन्धमा केन्द्रित हुने बताइएको छ । सन् २०२० को प्रारम्भमा ऐतिहासिक इन्डोनेशिया–अस्ट्रेलिया व्यापक आर्थिक साझेदारी सम्झौता (आईए–सीईपीए) अनुमोदन भएपछि कोरोनाभाइरस महामारीको कारण कार्यान्वयनमा ल्याउन रोकिएको थियो ।

निर्वाचन अभियानका क्रममा लेबर पार्टीले सरकार बनाएमा अल्बेनिजले इण्डोनेशियासँगको सम्बन्धलाई महत्व दिँदै अन्य मुलुकसँगको विदेश नीति लाई प्राथमिकता दिने प्रतिज्ञा गरेका थिए ।

शुक्रबारको एक वक्तव्यमा उनले भने, “इण्डोनेसिया हाम्रा सबैभन्दा नजिकका छिमेकीहरूमध्ये एक हो । यही कारण मैले सकेसम्म चाँडै भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेँ ।”

उनले भने, “आफ्नो भ्रमणका क्रममा दुई मुलुकको व्यापारिक सम्बन्धलाई पुनर्जीवन दिने र जलवायु, पूर्वाधार र ऊर्जा सहयोगलाई प्रवद्र्धन गर्ने लगायतका सम्बन्धलाई थप विकास गर्न म उत्सुक छु ।”

आई ए–सीइपीएले अस्ट्रेलियाको ९९ प्रतिशत निर्यातमा शुल्क खारेज गर्ने वा कटौती गर्ने र इन्डोनेसियाली युवालाई अस्ट्रेलियामा काम गर्न र अध्ययन गर्न सजिलो बनाएको उनको दावी छ ।

तथापि, व्यापारिक सम्झौता लाई अनुमोदन गरेको केही समयपछि फैलिएको कोभिड–१९ महामारीका कारण जारी सीमा प्रतिबन्धले यसलाई निकै प्रभावित बनाएको थियो ।

अल्बेनिजले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको एसोसिएशन (आसियान)का महासचिव डाटो लिम जोक होइसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।