प्रदेश 2

पर्साको विन्ध्यवासिनी गाउँपालिकाको विद्यालयमाथि छानविन


२५ जेठ, वीरगञ्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानविन गरी कारवाही गर्न सुरुआत गरेको छ । केही सामुदायिक विद्यालयहरुले मापदण्डअनुसार विद्यार्थीहरुलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०७८/७९ मा पालिकाभित्रका कूल १४  सामुदायिक विद्यालयमा विद्यार्थीहरुका लागि एक सय दिनको खाजा खर्चस्वरुप रु ५० लाख ती विद्यालयहरुमा विनियोजन गरिएको थियो  । विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई  खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीहरुलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी प्रत्येक दिन फरक फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ । यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत  साहले जानकारी दिए  । 

 वीरगञ्ज महानगरपालिका–१५ पिपरास्थित गुरुकुल एकेडमीमा कार्यरत शिक्षकबाट एक विद्यार्थी कुटपिट गरिएको आरोपमा विद्यार्थीका आफन्तद्वारा जिल्ला  प्रहरी कार्यालयमा उजुरी परेको छ  । शिक्षक राजबाबु कुमारले कक्षा ७ मा अध्ययनरत १५ वर्षीय रिजुराज सिंहमाथि कुटपिट गरेको उल्लेख गर्दै विद्यार्थीका बुबा मन्टुकुमार सिंहले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्  । 

शिक्षक राजाबाबुले कक्षा कोठामा हल्ला गरेको निहुँमा पटकपटक विद्यार्थी रिजुराजमाथि टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरेको विद्यार्थीका बुबा सिंहको आरोप छ ।  सिंहका अनुसार शिक्षक राजाबाबुले स्टिलको स्केलले टाउको र पिठ्यूँमा तथा गालामा रिजुराजलाई पटक पटक कुटपिट गर्दै आएका छन् । गुरुकुल एकेडमीमका प्रधानाध्यापक रामबाबुप्रसाद साहले विद्यार्थीलाई कुटपिट नभएको अभिभावकले अफवाह मात्र फैलाएको प्रतिक्रिया दिए ।