११ असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारतिर नजर लगाउन छाडेर संगठन निर्माणतिर लाग्नुपर्ने बताएका छन् ।
आज कांग्रेसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ०८४ को निर्माणसम्म पार्टीलाई स्वच्छ, सफा, बलियो र एकतावद्ध बनाउन आवश्यक रहेको बताएका हुन् । उनले ०८४ सम्म सरकार चलाउने जिम्मा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताए ।
‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी, जो—जोले चलाएका छन्, चलाउन दिऔं, चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔं’, महामन्त्री थापाले भने ।





