अन्तर्राष्ट्रिय

पाकिस्तानमा गाडी दुर्घटना, २२ जनाको मृत्यु


२५ जेठ, बालोचिस्तान । पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताए।

घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले सो घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

उनले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिएका छन् ।