पर्यटन/संस्कृति

नौमती बाजा संरक्षण मगर युवा

२८ जेठ, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन् । गाम्रीण तथा सहरी क्षेत्रमा नेपाली परम्परागत बाजा नौमतीको धुन गुञ्जिन छाडेपछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको थियो । पछिल्ला वर्षहरुमा यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको छ।

रानीमहल पञ्चेबाजा मगर समूहका उपाध्यक्ष टीकाबहादुर बाह्रघरेले गाउँ तथा सहरमा समेत बाजा बजाउने माग आइरहेको छ । पुर्खाको कला र सीप संरक्षणका लागि हामीले चासो दिएका मात्र हौँ । यो पेसाको संरक्षणले नेपाली समाजलाई फाइदा पुगेको बाह्रघरेले बताए । गाउँमा पञ्चेबाजाको धुन गुञ्जिन छाडेको वर्षौंपछि पहिला सीप सिकेका केही युवा जुरमुराए अनि समूह बनाएर पञ्चेबाजा बजाउन थालेका हुन् । पञ्चेबाजा देवीदेवताको मन्दिरमा बजाइन्छ भने नौमती बाजा रमाइलोका लागि बजाइने गरिन्छ ।

अहिले नौमतीको धुनसँगै विवाह, व्रतबन्ध मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम, पर्वमा पनि नौमतीको माग हुन थालेपछि समूहसँगै व्यक्तिगत रूपमा पनि उनीहरूको आय बढेको छ । पारिश्रमिकको केही भाग बाजा मर्मत तथा संरक्षणका लागि कोषमा राख्ने गरिएको समूहका सदस्य भेषबहादुर बाह्रघरेले बताए । बाजाको धुन गुञ्जिन थालेपछि जो कोहीलाई उत्साहित बनाउने गर्छ । नौमती बाजा बजाउने चलन नेपालको परम्परादेखि चलिएको हो । यस्ता खालका बाजा बजाउने मानिस हराउन थालेपछि स्थानीय सरकारले संरक्षणका लागि सहयोग गर्दै आएको छ ।

मगर युवाले परियार जातिका मानिसलाई गाउँमा बोलाई बाजा बजाउन सिकेका थिए । एक महिनामै बाजा बजाउन सिकेपछि शुभकार्य तथा मनोरञ्जनका लागि उनीहरु बाजा बजाउन व्यस्त हुन थालेका छन् । मगर जातिका युवाले बाजा बजाई दर्शकलाई पनि नचाउन थालेपछि स्थानीय बासिन्दा पनि दङ्ग छन् । परियार जातिका युवाले बाजा बजाउन छाडेपछि शुभकार्य पनि सुनसान जस्तै हुन थालेको थियो । यहाँका मगर जातिका युवाले वि.सं २०६२ मा रानीमहल पञ्चेबाजा मगर समूह स्थापना गरी नौमती बाजाको संरक्षणमा जुटेका हुन् ।
सामाजिक विभेद र आर्थिक सङ्कटका कारण दलित समुदायका परम्परागत पेसा बिस्तारै लोप हुन लागेकाले यसको संरक्षणका लागि राज्यको चासो बढाउन आवश्यक रहेको दलित अधिकारकर्मीको भनाइ थियो ।

दलित समुदायअन्तर्गत परियार जातिको नौमती बाजा बजाउने परम्परागत पेसा हो । परम्परादेखि नै बाजा बजाउने पेसा अँगालेका दलित समुदायलाई जातीय छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गर्दा उनीहरु यो पेसाबाट नै विस्थापित भएका हुन् । दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले अहिले दलित समुदायका मानिसहरु परम्परागत पेसाभन्दा अन्य व्यवसयामा आकर्षित भएको बताए। सरकारले दलित समुदायका पेसा तथा व्यवसायलाई संरक्षणमा चासो नदेखाएको उनको गुनासो थियो ।