अन्तर्राष्ट्रिय

भारतको विपक्षी दलका नेतालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सोधपुछ


३० जेठ, नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ । गान्धी ईडीको कार्यालयमा पुग्नु अघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए।
गान्धीसँगै उनकी बहिनी प्रियङ्का गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो । प्रदर्शनकारीहरूलाई पार्टी मुख्यालयको ब्यारिकेडहरूमा रोकिएको थियो र थुप्रैलाई हिरासतमा राखिएको थियो।
दिल्ली ट्राफिक प्रहरीले सोमबार राष्ट्रिय राजधानीका बासिन्दाहरूलाई प्रदर्शनको क्रममा केही सडकहरूबाट जोगिन आग्रह गर्दै सूचना जारी गरेको थियो ।
यस मामिलामा काङ्ग्रेस पार्टी प्रमुख सोनिया गान्धीलाई पनि छानबिन एजेन्सीले बोलाएको छ। कोभिड(१९ सङ्क्रमण देखिएपछि उनले थप समय मागेकी थिइन्। त्यसपछि एजेन्सीले उनलाई जुन २३ का लागि बोलाएको छ ।