१ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ ।
आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ । उनी आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बस्दै आएका छन् ।
सांसद थापाले भने, “सडकमा न्यायको माग गर्दै निहारिका छ दिनदेखि अनशन बस्दै आएका छन्, बलात्कारपछि राज्यका सबै तहमा न्यायको भिख मागिरहेको छ, तर सरकारको ध्यान पुग्न सकेको छैन, सो घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।” अनशनरत निहारिका आफ्ना ११ महिने बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने लगायतका माग राखेर अनशन बसेका हुन् ।
जिल्ला अदालत धनुषाले उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ । सांसद थापाले महिला हिंसा, हत्या र बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै गएको बताउँदै कानुन कार्यान्वयन गरी दोषीमाथि कडा कारबाहीको माग गरे ।
सांसद राजेन्द्रप्रसाद लिङ्देलले बहुमतको बलमा एमसिसी पास गरिएको भन्दै एमसिसीका कारण अहिले देशमा समस्या भइसकेको जिकिर गरे । उनले देशमाथि सङ्कट आइलाग्ने गरी कुनै पनि वैदेशिक सम्झौता नगर्नसमेत माग गरे । यही वर्ष हुने सङ्घ र प्रदेशको निर्वाचनलाई स्वतन्त्र तथा निष्पक्षरुपमा सम्पन्न गराउन स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने उनको भनाइ छ ।





