गण्डकी प्रदेश

एक सय एक परिवारलाई लालपुर्जा वितरण

९ असार, दमौली । नापी कार्यालय तनहुँले ऋषिङ–४ भीरकोटका एक सय एक परिवारलाई गाउँ ब्लक अन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको भीरकोट गाउँ विकास समिति अन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणलाई पुर्जा वितरण गरेको थियो ।  पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैँकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्शानाप गरिएको थियो । 

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्शा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो । कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी, बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लक अन्तर्गतका पुर्जा वितरण गरिसकेको छ । तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।