कर्णाली प्रदेश

जुम्लाको पातारासीमा पूर्णखोप

१६ असार, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए। पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको थियो । जस अनुसार ७ वडा उत्कृष्ट सातजना स्वयमसेविका र स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्ण खोपपालिका घोषणा हुनु गौरवको विषय भएको बताए। उनले भने, “यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलिएको छ । अन्य पालिकाले पनि पूर्ण खोप अभियान चलाउन आवश्यक छ । स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशांसनीय छ ।”

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले दिगो विकासको मुख्य सूचक मानिने पूर्ण खोप अभियानमा पातारासी सफल भएको बताए। बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभइ पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि विकासको सूचक मानिने उल्लेख गरे ।

वि.सं २०३० नेपालाई पूर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इँटा थपेको छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, “दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ । पोषणस्थिति सुधारदेखि औषधि आपूर्ति र नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढङ्गले अघि बढ्ने छ ।”

प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले घोषणा गर्नुभन्दा ठूलो कुरा नभइ प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए । विगत दुई वर्षको मेहनतले पूर्ण खोपपालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवाले साथ दिनुपर्नेमा उनको जोड थियो । खोप बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको उल्लेख गर्दै पूर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाले बताए।