बाग्मती

बागमती प्रदेशको माडीमा युवामैत्री स्थानीय शासन प्रवद्र्धन

१६ असार, काठमाण्डौ । बागमती प्रदेशका स्थानीय तहमध्ये चितवनको माडी नगरपालिका युवामैत्री स्थानीय शासनको प्रवद्र्धनका लागि छनोट भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक—एक स्थानीय तहको छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा प्रमुख सरोकारवालाबीच माडीबाट क्षमता अभिवृद्धि कार्यक्रमको सुरुआत गरेको छ ।

राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपी र युनिसेफ नेपालले संयुक्तरूपमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रूप दिन साझेदारी गरेका हुन् ।

अभियानअन्तर्गत विभिन्न्न सरोकारवालाको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन तालिम निर्देशिका तयार गरिएको छ । यही असार १४ देखि १६ गतेसम्म आयोजित युवामैत्री स्थानीय शासनबारे क्षमता अभिवृद्धि कार्यक्रममा माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, वडाअध्यक्ष दीपेन्द्रराज पौडेल, कार्यपालिका सदस्य ऋचा सुनार, शाखा प्रमुख र कर्मचारीको सहभागितामा थियो । कार्यक्रमममा माडी नगरपालिकालाई युवामैत्री स्थानीय तहका रूपमा अवलम्बन, कार्यान्वयन र घोषणाका लागि कार्ययोजना तयार गरिएको छ ।

क्षमता अभिवृद्धि कार्यक्रमको सहजीकरण अभियानकर्मी विष्णु खत्री, तिलोत्तम पौडेल, चन्द्रा थापा, मीना शर्मा र दीपक शर्माले गरेका थिए। राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवाको परिभाषामा समेटेको छ । युवाहरु ऊर्जावान्, सक्षम र सिर्जनशील उमेर समूहमा रहेका छन् । राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाको सकारात्मक र रचनात्मक योगदान रहने मानिन्छ ।

नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता, दिगो विकासका लक्ष्य (२०१६—२०३०), नेपालको संविधान, पन्ध्रौँ योजना, राष्ट्रिय युवानीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, राष्ट्रिय युवा परिषद् नियमावली २०७३, युथभिजन २०२५ तथा दश वर्षे रणनीतिक योजनालगायतका विभिन्न प्रतिबद्धता र दस्तावेजमा युवाअधिकार र उनीहरुको समग्र विकासका विभिन्न प्रतिबद्धता व्यक्त गरिएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिबिम्बित भएका प्रतिबद्धता तथा व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि युवाको अर्थपूर्ण सहभागिता र उनीहरुको समग्र विकासका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्दै युवामैत्री स्थानीय शासन अवलम्बन र कार्यान्वयन गर्न माडीका जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् ।

युवालाई गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्जन शीर्षकअन्तर्गत तय गरिएका लक्ष्यको प्राप्ति गर्दै देशैभरिका स्थानीय तहलाई युवामैत्री स्थानीय शासनका रूपमा विकास गर्ने लक्ष्य युवामैत्री स्वाशासन अभियानको रहेको छ ।

युवामैत्री शासन युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै शासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा सञ्चालन गरिने शासन प्रणाली हो । युवामैत्री स्थानीय शासनमा सात रणनीति, ४६ कार्यनीति, ४५ सूचक र अवलम्बन, कार्यान्वय र घोषणाका लागि चार चरण प्रस्ताव गरिएको छ । स्थानीय आवश्यकताअनुसार रणनीति, कार्यनीति, सूचक र चरणको स्थानीयकरण गर्न सकिन्छ ।

सङ्घीय संरचनाको अभ्याससँगै स्थानीय सरकारका रूपमा क्रियाशील ७५३ वटै स्थानीय तहमा युवामैत्री स्थानीय शासनलाई अवलम्बन गरी युवासँग सम्बन्धित साझा सवालको सम्बोधन, नीति निर्माण र कार्यान्वयनमा युवाको संलग्नता, युवाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, विशेष वर्ग तथा समुदायका युवाका प्राथमिकताका सवालको सम्बोधनलगायतका सवालको सम्बोधन गरी युवाको नेतृत्व र साझा सवालको सम्बोधनका लागि युवामैत्री स्थानीय शासनको अवलम्बन, कार्यान्वयन र घोषणाले सहयोग पुग्ने जनाइएको छ ।