स्वास्थ्य

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना सङ्क्रमित

५ साउन, पर्सा । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् ।

विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि सङ्क्रमित भेटिन थालेका हुन् । गत चैतको अन्तिम सातादेखि सङ्क्रमित नभेटिएपछि बन्द गरिएको पिसिआर परीक्षणलाई पुनः सुरु गरिएपछि सङ्क्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । 

सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पिसिआर परीक्षणको रिपोर्टअनुसार छ जना सङ्क्रमित भेटिएका छन् । उनले  ३४ जनाको स्वाबलाई परीक्षण गर्दा छ जना महिलामा सङ्क्रमण पुष्टि भएको बताए ।

ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शङ्का लागि पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको डा सिंहले जानकारी दिए । अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उनले बताए ।

नारायणी अस्पतालमा हाल प्रत्येक मङ्गलबार शङ्का लागेका बिरामीको पिसिआर परीक्षण सुरु गरिएको र यो सङ्ख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ ।