६ साउन, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आज ललितपूरस्थित होटेल हिमालयनमा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघले दशकौँ देखि उठाउँदै आएका मागहरुलाई सम्बोधनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुसँग कार्यशालामा बृहद् छलफल भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं विश्वभरबाट अनलाईन माध्यमबाट २०० भन्दा बढी गैरअवासीय नेपालीहरुको सहभागिता रहेको थियो । मुलतस् वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप लगायतका विषयमा कार्यक्रममा बोल्ने वक्ताले आ–आफ्ना भनाई राखे ।
गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी
बैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी भएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको हो । एनआरएनएले झण्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो । श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको बताए । ‘संसदमा नेपाल ऐन संशोधन गर्ने तयारी भइरहेको छ, त्यसमा विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि वैदेशिक रोजगार ऐन परिमार्जन हुँदैछ ।’ उनले भने ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवरले सरकार विदेशमा रहेको नेपाली श्रमिकप्रति संवेदनशिल रहेको बताएका छन् । सरकारले विदेशमा रहेका नेपाली कामदारको योगदानले मुलुकको समृद्धिमा ठूला योगदान पुर्याएको भन्दै उनले उनीहरुको सुरक्षा र हक अधिकारका विषयमा सरकार गम्भीर रहेको बताए । विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यविधि बनिरहेको र छिट्टै त्यसलाई टुंगो लगाउने उनले बताए । बाह्रय मुलुकले गन्तव्य मुलुकमा सामाजिक सुरक्षाका क्षेत्रमा गरिरहेका अभ्यासलाई समेत अध्ययन गरेर सामाजिक सुरक्षाका विभिन्न आयाम र सेवा सुविधालाई समेट्न सकिने मन्त्री कुँवरले बताए । विदेशबाट नेपाली श्रमिकले पठाएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी गर्न सरकारले योजना बनाएर अघि बढ्ने मन्त्री कुँवरले बताए । विदेशमा रहेका नेपाललाई हेर्ने छुटटै युनिट बनाएर काम अघि बढाउने भन्दै उनले भने, ‘यस विषयमा हामी निरन्तर छलफलमा छौँ ।’
विदेशमा रहेका अलेखबद्ध कामदार र कामका शिलशिलामा मृत्यु भएका तथा घाइते भएकालाई स्वदेश ल्याउन पनि सरकारले एनआरएनसँग सहकार्य गर्ने मन्त्री कुँवरको भनाई थियो ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले कोषलाई अघि बढाउन सकारात्मक कदम चालेकोप्रति आभार व्यक्त गर्दै विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यमा आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । आचार्यले तत्काल सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपालीलाई समेट्नको लागि कानूनी आधार तय गर्न उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक तहमा लबिङ गर्न संघ सदैव प्रतिबद्ध रहेको बताए ।
एनआरएनएका अर्का अध्यक्ष डा.बद्री केसीले वैदेशिक रोजगार व्यवस्थित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै डा. केसीले विदेशमा कार्यरत युवाहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने र राज्य समेत संवेदनशिल हुनुपर्ने बताए । जीवनस्तर सुधार्नका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेपनि स्वदेश फर्केर आएपछि पनि दुस्ख यथाथत रहने बाध्यता रहेको भन्दै उनले सो बाध्यताको अन्त्य हुनुपर्ने बताए । विदेशमा कार्यरत श्रमिकको मानव अधिकार हनन भएको बताउँदै डा. केसीले एक तिहाइ अर्थतन्त्र धान्ने वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष समेत रहेका वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आर के शर्माले विदेशमा रहेका नेपालीहरु जीवनभर विदेशमा रहेपनि उनीहरुको सुरक्षाका लागि भने कुनै व्यवस्था नहुँदा उनीहरु समस्यामा पर्ने गरेको बताए । उनीहरुको जीवनभरको कमाई अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमुलक क्षेत्रमा समेट्न आग्रह गरे । कार्यक्रमको दोश्रो सत्रमा शर्माले नेपालमा विदेशी मुद्रा खाताको महत्व एवम् आप्रवासी कामदारको भविष्य र नेपाल विकासको लागि रेमिट्यान्सको उपयोग विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस सत्रको संचालन एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र भाटले गरेका थिए ।

लगानी तथा डलर खाता सत्रः
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बिहीबार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशलाको लगानी तथा डलर सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले एनआरएनलाई स्वदेशमा लगानी ल्याउन सहज वातावरण निमार्णमा सरकारको तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाएका छन् । माननीय मन्त्री बडुले विदेशमा बस्ने नेपालीलाई सहज हुने हरेक प्रकार समस्याको हल गर्ने बताए ।
यस सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको भन्दै उनले यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए । मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चापबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहलाई यो उपयुक्त अवसर हो । प्रत्यक मुलुकको वा सहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् । तपाईंहरुले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ’ उनले भने ।
उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए । नेपालको अर्थतन्त्रका केही सूचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने उनको भनाइ थियो ।
सेबोनका अध्यक्ष रमेश हमालले साधरण सेयर (आईपीओ) मा गैरआवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुग्ने भन्दै उनले नेपालमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने बताए । उनले यसको दायरा आझ फराकिलो बनाउने बारे पनि बताए ।
नेपाल सरकारका अर्थ सहसचिव रमेश कुमार केसीले पुँजी बजारको क्षेत्रमा एनआरएनएलाई कसरी संलग्नता गराउने वैदेशिक लगानी, रेमिट्यान्सलाई सुदृढ को लागि केही बजेटमा पनि उल्लेख गरेको बताए।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपालीहरुले डलर एकाउन्ट खोलेर मोबाइल बाट पैसा नेपाल ट्रान्सफर नहुने भएको हुँदा सम्वन्धित देशको बैंक संग सम्झौता अथवा सहकार्य र समन्वय गर्न बैंकर्स् हरुलाई आग्रह गरेका थिए र छिटो भन्दा छिटो गैरआवासीय नेपालीको हकमा नेपाली सरह लगानी गर्ने वातावरण भयो भने गैरआवासीय नेपाली सङ्घको पहिला देखिकै दश अर्बको योजना मात्र नभई पचासौं अर्ब लगानी गर्नसक्ने बताए।
गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघ स्थापनाकालदेखि नै नेपालमा लगानी भित्राउने र समृद्ध नेपालको परिकल्पनाको बारेमा अग्रणी भूमिका खेलेको बताए विदेशमा बसेका गैरआवसीय नेपालीले नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न उनीहरुको हकमा कानुनी तथा नीतिहरुमा सहजता ल्याउन नेपाल सरकारलाई आग्रह गरेका छन्।
एनआरएनए उपाध्यक्ष महेश श्रेष्ठले बिदेशमा बसेका नेपालीहरूको औसत आम्दानी २० खर्ब भन्दा बढी भएको तर रेमिट्यान्स ८ खर्ब मात्र भित्रिएको छ तर सबै भित्राउन नेपाल सरकारले पोलिसी परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताए। विदेशमा बस्ने नेपालीहरू मध्य दश हजारले पाँच हजार रुपैंयाको दरले मात्रै सामाजिक सुरक्षा कोषमा समेट्न सकेमात्र साठी अर्ब रुपैया भित्रने तथ्यांक प्रस्तुत गरेका थिए।
त्यस्तै कार्यक्रममा उपस्थित भएका अतिथीहरुले पुँजी बजारको विस्तार, वैदेशिक लगानी ,रेमिट्यान्स भित्र निमित्त एनआरएनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस सत्रको संचालन एनआरएनए आईसीसी उपाध्यक्ष आर.के शर्माले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा संघका प्रवक्ता सोम सापकोटाले कार्यशालाबाट निष्केका निष्कर्षहरु पढेर सुनाएका थिए ।





