खेलकुद

पदक बिजेता शारिरीक सुगठन टोलीलाई विमानस्थलमा स्वागत

७ साउन, काठमाडौँ । मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप २०२२ मा पदक प्राप्त गर्दै राष्ट्रको गौरव बढाउने खेलाडी लगायत नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।
नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले टोलीलाई खादा, माला तथा अबिरले स्वागत गरेका हुन् ।
यहि श्रावण १ देखि ४ गते सम्म आयोजना भएको च्याम्पियनसिपमा ८० केजी तौल समूहमा उमेश राईले रजत र फिटनेस फिजिक तर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजु राईले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
निकैनै प्रतिस्पर्धात्मक खेलमा नजिकै पुगेर पनि राष्ट्रको लागि स्वर्ण जित्दै ओभरअलमा पुग्न नसकेकोमा खिन्न महसुश गर्दै उमेशले आगामी संस्करणमा उत्कृष्टता प्रस्तुत गर्दै स्वर्ण हासिल गर्न लागि पर्ने बताए ।
खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेका छन् ।
नेपाली टोलीको ब्यवस्थापकमा संघका उपाध्यक्ष दिनेश राजभण्डारी तथा निर्णायकहरुमा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डङ्गोल र लक्ष्मण महत रहेका थिए ।
५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । त्यसका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।