अन्तर्राष्ट्रिय

मोसाद सदस्यलाई पक्राउ गरेको इरानको दाबी

८ साउन, तेहरान । इरानले इजरायलको जासूसी सञ्जालका सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ । इरानी सुरक्षा बलले देशमा रहेको इजरायली जासूस सञ्जालका सबै सदस्यलाई पक्राउ गरेको सकारी समाचार निकाय इरनाले जनाएको हो ।

इजरायली जासूसी सञ्जालका सदस्यहरूलाई इरानमा आतङ्कवादी कारबाही सञ्चालन गर्न पठाइएको थियो, तर कुनै पनि आतङ्क वा ध्वंसात्मक गतिविधि गर्नु अघि नै उनीहरूलाई पक्राउ गरिएको इरानी गुप्तचर मन्त्रालयको एक विज्ञप्तिमा जनाइएको छ ।

इराकको कुर्दिस्तान क्षेत्रबाट इरान प्रवेश गरेका सञ्जाल सदस्यहरू छिमेकी राज्यमार्फत इजरायली गुप्तचर संस्था मोसादसँग सम्पर्कमा रहेका तथा उनीहरूले अत्याधुनिक उपकरण र शक्तिशाली विस्फोटक पदार्थ बोकेका विज्ञप्तिमा उल्लेख छ ।

मोसादका गतिविधिको निरीक्षण, निगरानी एवम् सञ्चालन गर्ने इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना सदस्य इरानमा पक्राउ परेका सम्बन्धमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।