अन्तर्राष्ट्रिय

पाकिस्तानमा पत्रकार पक्राउको निन्दा, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

२५ साउन, कराँची । पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग गरेका छन् । उनलाई आज यहाँबाट पक्राउ गरिएको हो । सादा पोशाकमा प्रहरी अधिकारीहरू उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए ।

पत्रकार सङ्घ र प्रेस क्लबले एआरवाई न्यूजका प्रमुख युसुफको गिरफ्तारीलाई पीडकको कार्य भन्दै उनलाई तत्काल हिरासतमुक्त नगरे देशव्यापी आन्दोलन आह्वान गर्ने चेतावनी दिएका छन् । पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्टले वक्तव्य जारी गर्दै सरकारको लज्जास्पद कारबाहीको विरोध गरेको छ । 

उसले प्रधानमन्त्री शहबाज सरिफले युसुफलाई तत्काल रिहा गर्न आदेश दिनुपर्ने बताएको छ । (पिएफयूजे)का महासचिव एएच खानजादाले युसुफलाई तत्काल रिहा नगरिए पत्रकारले देशव्यापी आन्दोलनको आह्वान गर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध कुनै पनि हालतमा नसहने कराँची प्रेस क्लबका सचिव रिजवान भट्टीले भनेका छन् । 

युसुफको गिरफ्तारी देशको सबैभन्दा ठूलो निजी प्रसारक च्यानललाई पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सोमबार कारण देखाउ सूचना पठाएपछि भएको हो ।

यसैबीच, नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सलमान इकबालसहित अन्य दुई ‘एङ्कर’विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ ।उनीहरूमापत देशद्रोह र कथित षड्यन्त्रको आरोप लगाइएको छ ।