प्रदेश 1

मोतिराम जयन्तीका अवसरमा दुई पत्रकार पुरस्कृत

११ भाद्र, मोरङ । नेपालको पहिलो पत्रकारका रुपमा मानिएका मोतिराम भट्टको जन्मजयन्तीका उपलक्ष्यमा आज यहाँ दुई पत्रकारलाई पुरस्कृत गरिएको छ ।

पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा  कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ बाट नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीलाई रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।

यसैगरी खिलेश्वरी स्मृति पुरस्कार–२०७९ बाट मोरङका पत्रकार दुर्गाप्रसाद भट्टराईलाई रु ११ हजारसहित सम्मान गरिएको छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मानित सञ्चारकर्मीलाई पुरस्कृत गर्दै पत्रकारको जीविकोपार्जन र सुरक्षा उपलब्ध गराउन राज्यको ध्यान जानुपर्ने बताए।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजको महत्वपूर्ण अङ्गका रुपमा रहेको भाषा र साहित्यको संरक्षण गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभापति विपुल पोखरेलले प्रेस स्वतन्त्रता अक्षुण राख्न राज्यका सबै निकायको दायित्व रहेको उल्लेख गर्दै व्यावसायिक पत्रकारिताको संरक्षण, विकास र प्रवद्र्धनमा राज्यले उपयुक्त नीति बनाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सञ्जिव खनाल, पुरस्कृत व्यक्तित्व महासङ्घका पूर्वसभापति निष्ठुरी, महासङ्घका प्रदेश अध्यक्ष लीला वल्लभ घिमिरे, महासङ्घका जिल्ला उपाध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पि अधिकारी र गोपाल पोखरेलले पत्रकारिताको विकासका लागि प्रविधिका साथै भाषाको सही प्रयोग गर्न आग्रह गरे । सोही अवसरमा सभामुख भण्डारीले कोशराज रेग्मी स्मृतिका पाना पुस्तकको विमोचन गरेका थिए ।