राजनीति

‘देशलाई समृद्ध बनाउन स्थानीय तह बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ’ : बिजुक्छेँ

११ भाद्र, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

आज भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गरेको सय दिन पुगेको अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले सरकारले अन्य देशबाट सिक्दै देशलाई समृद्ध बनाउनतर्फ सोच्नुपर्ने बताए । नयाँ पुस्ताले अन्धविश्वासमा वैज्ञानिकताको खोजी गर्नुपर्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेँले राजनीतिक कार्यकर्ताले सङ्गठित भएर काम गरे गल्ती कम हुने र राजनीतिक प्रतिबद्धतामा ठूलो नैतिक बल हुने बताए ।

नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा राख्न जनप्रतिनिधि र कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले समय सापेक्षित ढङ्गले कर्मचारीलाई तालिम तथा प्रशिक्षणको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सय दिनमा गरेका गतिविधिबारे जानकारी दिँदै भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता रहेको औँल्याए ।

उनले नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई इ–लाइब्रेरी बनाउने, ख्वप अस्पताल सय शय्या स्तरोन्नति गर्ने, ख्वप विश्वविद्यालय सञ्चालन गर्ने, कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने, खानेपानी वितरण प्रभावकारी बनाउने, पर्यटन क्षेत्रमा सुधार ल्याउने, अनलाइनमार्फत कर भुक्तानी सुरु गर्ने, हनुमानघाटमा सुधारिएको शवदाह गृह सञ्चालन गर्ने र ख्वप टेलिभिजन सञ्चालन गर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँलगायतले नगरपालिकाले जनताको पक्षमा काम गर्दै आएको बताए ।