राजनीति

गठबन्धन अहिलेको अवाश्यकता र वास्तविकता : वरिष्ठ नेता पौडेल

१३ भाद्र, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरुसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने ।

उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता हो भने । उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए । 

वरिष्ठ नेता पौडेलले जीवनमा आफूले लेनदेनको राजनीति नगरेको र मुलुकको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान् छवि भएको व्यक्तित्व आवश्यक भएको चर्चा गरे । “मुलुकको लागि अझै केही गर्ने हुटहुटी र आकांक्षा छ, त्यसैले फेरि आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहेको छु”, उनले भने ।

विचार र कामबाट कांग्रेसलाई अझै सुदृढ बनाउँदै यसमा रहेका कमी कमजोरी सुधारेर निर्वाचनमा पार्टीलाई लैजानुपर्ने उनको भनाइ थियो । “नयाँ पुस्ताको चाहना र नेतृत्वप्रति हामी सजग छौँ, पार्टीमा उम्मेदवारी दिँदा सही मान्छे सही ठाउँमा नभए पार्टीलाई अप्ठयारो पर्न सक्छ, यसमा सावधानी अपनाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने।

नयाँ र पुराना पुस्ता मिलेर देश बनाउनुपर्ने छ भन्दै वरिष्ठ नेता पौडेलले लोकप्रियताका लागि जे पनि भन्ने र बोल्ने प्रवृत्तिबाट नेताहरु मुक्त हुनुपर्ने धारणा व्यक्त गरे ।