पर्यटन/संस्कृति

भक्तपुरमा चथाः पर्व मनाइँदै

१४ भाद्र, भादगाउँ । नेवार समुदायले भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथाः पूजा भक्तपुरमा आजै मनाइने भएको छ । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भदौ १५ गते भाद्र शुक्ल चतुर्थी भए पनि आज साँझ नै चतुर्थी पर्न आएका कारण आजै मनाउन लागिएको हो ।

नेवा सँस्कृतिमा तिथि र मिति मिलाएर साँस्कृतिक पर्व मनाउनुपर्ने भएकाले आजै मनाउन लागिएको भैरवनाथका पूजारी माइला छुङ्काले बताए । गणेश चतुर्थीको अवसरमा नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्य बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस भन्ने कामनासहित पूजा गर्दछन । भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । गणेश र चन्द्रमाको पूजा गरे जीवनमा चोर दोष नलाग्ने विश्वास छ ।

चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते (हल्दीको पात जस्तो)मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीऊ, नासपाती, केरा, स्याउ, अनार, अम्वा, हाँडे ओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला र बदाम भुटेको गेडागुडी चढाइन्छ । यसरी विधिवतरुपमा पूजा सकेपछि परिवारका सबै सदस्य प्रसादको रुपमा गणेश र चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी खाने चलन छ । आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुवो, लड्डु र मुला चढाउँदा गणेश खुशी भई जीवनमा चिताएको मनोकामना पूरा हुने विश्वास छ ।

चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने परम्परा छ । एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाशसमेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन् । अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घरभित्र पस्ने चलन छ ।

गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले १०औैँ भित्र्याउने चाडका रुपमा लिने गरेको छ । दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाःपर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । त्यही आज बेलुका घर परिवारका सबै सदस्य लाइनले बसेर भोज खाने चलन छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने चलन छ । 

आजकै दिन इन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौँको बसन्तपुरसम्म लिङ्गो लैजाने परम्परा छ । इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ । लिङ्गेवनमा विधिपूर्वक पूजा गरेपछि बली दिने बोकालाई छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ ।