राजनीति

निर्वाचनले मुलुक र जनताको जीवनमा रुपान्तरण ल्याउने प्रधानमन्त्री पाउँछ : महामन्त्री शर्मा

१७ भाद्र, सुरुङ्गा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ को निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताएका छन्।

झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको मेचीनगरस्थित बाहुनडाँगीमा नवनिर्मित सालिकको अनावरण गर्दै महामन्त्री शर्माले मुलुकमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आइसकेकाले अब बन्ने प्रधानमन्त्री जनताको जीवनमा रुपान्तरण गर्न सक्ने चाहिएको र त्यस्तै प्रधानमन्त्री मुलुकले पाउने बताए ।

मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै महामन्त्री शर्माले, “अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ”,  भने । 

नेपाली कांग्रेसका नेता घिमिरेको  २०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले गोली हानेर हत्या गरेको थियो ।  उनको सहादत भएको ६० वर्षपछि नेपाली कांग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको थियो । तत्कालीन बाहुनडाँगीका प्रधानपञ्च रहेका घिमिरेको सहादत प्राप्त भएको छ दशकपछि निर्माण गरिएको शालिकको महामन्त्री शर्माले अनावरण गरेका छन् । रु १४ लाख ६३ हजार नौ सय ४७ को लागतमा सालिक निर्माण भएको आर्थिक समितिका संयोजक मोहन निरौलाले जानकारी दिए । 

कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाई, पार्टीका प्रदेश–१ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबेलगायतले बोलेका थिए । त्यस्तै  कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेकपा एकीकृत समाजबादीका सविता भण्डारीलगायतले सो अवसरमा आआफ्नो धारणा राखेका थिए । 

शालिक निर्माणका लागि सहिद घिमिरेका नाति निरज घिमिरेले साढे तीन धुर जग्गा दान गरेका सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष कट्टेलले बताए ।  सो समारोहमा शहिदका दुई जना परिवारलाई अभिनन्दन गरिएको छ । शहिदका स्व। छोरा ठाकुरप्रसादकी श्रीमती धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको हो ।